काठमाडौं, फागुन १६ । आगामी फागुन २० गते शनिबारदेखि मुलुकमा राजतन्त्र पुर्नस्थापना एवं हिन्दुराष्ट्र घोषणाको आन्दोलनको शुरुवात गर्ने बताइएको छ ।
व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्र र हिन्दुराष्ट्र घोषणाको माग गर्दै आन्दोलनको शुरुवात गर्न लागिएको प्रसाईंले जनाएका छन् ।
व्यवसाय प्रसाईंले सो आन्दोलनमा सहभागी हुन सबैसँग आग्रह समेत गरेका छन् । त्यसक्रममा उनले आन्दोलनमा आफूहरुले २०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दु राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको मासिक तलब कम्तीमा १ लाख ५० हजार पुर्याउनु पर्ने लगायतका १५ बुँदे माग प्रस्तुत गर्ने समेत बताएका छन् ।
कैदी बन्दीहरुलाई जेलमुक्त गराई जेलहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने, उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई यही पढ्ने वातावरण बनाउनुपर्ने, बेरोजगार युवाहरुलाई बिना धितो ऋण उपलब्ध गराई रोजगारी सिर्जना गर्नुपर्ने लगायतका माग पनि सरकार समक्ष गरिने प्रसाईले बताए।
सो कार्यक्रममा ज्ञानेन्द्रको पनि सहभागिता रहने दाबी प्रसाईंले गरेका छन् । केही समय अघि झापामा प्रसाईंले आयोजना गरेको कार्यक्रममा राजपरिवारका सदस्यहरु पनि सहभागी भएका थिए ।