Kath khabar
आईसीसी विश्व कप क्रिकेट लिग-२ : यूएईले नेपाललाई दियो २0८ रनको लक्ष्य

 

                   काठमाडौं, फागुन १८ ।  आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २0८ रनको लक्ष्य दिएको छ । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २0७ रन बनायो । यूएईका लागि आसिफ खानले ७२ र रोहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १/१ विकेट लिए ।

यो शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो । आजको खेलमा नेपालले यूएईलाई हराएमा आफ्नो एकदिवसीय क्रिकेट इतिहासमा लगातार छैटौँ जितको कीर्तिमान बन्नेछ ।

नेपालले अर्को खेलमा भोलि शुक्रवार पीएनजी र आउँदो आइतवार यूएईसँग खेल्नेछ । अङ्क तालिकामा यूएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हार सहित २८ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्न बाँकी ७ मध्ये ६ खेल तथा शीर्ष ५ मा रहेर एकदिवसीय मान्यता जोगाउन अब ४ खेल जित्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update