काठमाडौं, फागुन १८ । नेकपा एकीकृत समाजवादीले एमालेका उम्मेदवार सुभाष चन्द्र नेम्वाङलाई राष्ट्रपतिमा सहयोग गर्न नसक्ने जवाफ दिएको छ।
बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न पुगेका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवास चन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए । समाजवादीका नेताहरुले भने आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ दिएका छन् ।
भेटघाटबारे जानकारी गराउँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुले मत मागेको र अध्यक्ष नेपालले धन्यावाद दिएको बताए ।
‘उहाँहरुले राष्ट्रपति चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्नका निम्ति आग्रह गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले आफ्ना धारणा राख्दै मत माग्न आउनुभयो, सौहाद्र्धपूर्ण सम्बन्ध विकास गर्ने आधार सिर्जना गर्नुभयो, तपाईंहरुलाई धेरै धन्यवाद भन्नुभयो ।’
खतिवडाले राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र सर्मथक भएकाले सहयोग गर्न सकिने अवस्था नरहेको जानकारी एमाले नेताहरुलाई गराएको बताए । ‘राष्ट्रपति निर्वाचनमा हामी माननीय रामचन्द्र पौडेलको प्रस्तावक रहेको पार्टी भएको हुनाले तत्काल उहाँहरुलाई यसो गर्छौं भन्न सक्ने स्थिति पनि थिएन’, खतिवडाले भने, ‘त्यो कुरा उहाँहरुले पनि बुझ्नुभएको छ । मनन पनि गर्नुभएको छ ।’
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्दै अध्यक्ष नेपाललाई औपचारिक पत्र नै पठाएका थिए। अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्दै सम्बोधन गरी पत्र पठाएका थिए।