काठमाडौं, फागुन १९ । शहिद स्मारक ‘ए’ डिभिजन लिग आज शुक्रबारबाट शुरु हुँदैछ । दशरथ रंगशालासहित सातदोबाटोको एन्फा कम्प्लेक्स र च्यासल फुटबल मैदानमा पनि लिगका खेलहरु हुनेछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
‘ए’ डिभिजन लिगको प्रमुख अतिथीको रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन' ले प्रतियोगिताको उद्घाटन गर्ने भएका छन् । साथै सेलिब्रेटी, राजनीतिकर्मी र विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरुलाई पनि अतिथीको रुपमा बोलाईएको लिगको मार्केटिङ कम्पनी एमडीएसी स्पोर्टसले जनाएको छ । दशरथ रंगशालामा हुने पहिलो खेल साँझ ५:३० बजे सुरु हुनेछ । आज हुने उद्घाटनमा विद्यार्थीलाई प्रवेश निशुल्क गरिएको छ ।
यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । साथै फेयर प्ले चुनिने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ पाउँनेछन् भने विजेताले ५० हजार रुपैयाँ पाउनेछ र बराबरीमा टुंगिएमा त्यो रकम दुवै टोलीलाई बराबर दिइनेछ।