दुबई, फागुन २१ । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले हराएको छ ।
यूएईले दिएको ९८ रनको सामान्य लक्ष्य पीएनजीले २५ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । पीएनजीका लागि टोनी उराले नटआउट ३५ रन बनाए । बलिङ तर्फ यूएईका रोहन मुस्तफाले २ विकेट लिए । यस्तै जुनैद सिद्दिकी, आयन अफजल खान र जहूर खानले १/१ विकेट लिए ।
यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएई २६ ओभर २ बलमा ९७ रनमात्र बनाउन सक्यो । यूएईका लागि वृत्य अरविन्दले सर्वाधिक २० रन बनाउँदा अन्य ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । बलिङ तर्फ पीएनजीका रिले हिकुरेले ४ र चाद सोपरले ३ विकेट लिए ।
यो शृङ्खलामा नेपालले भोलि सोमवार यूएईसँग खेल्नेछ । नेपालले लिग-२ मा ५ खेल खेल्न बाँकी नै छ । बाँकी सबै खेल जितेमा नेपालले सोझै विश्व कप छनोट खेल्न पाउनेछ भने ३ खेल जिते एकदिवसीय मान्यता कायमै रहनेछ । अङ्क तालिकामा नेपाल ३१ खेलमा ३० अङ्ककका साथ छैटौँ स्थानमा छ । पीएनजी ३२ खेलमा ९ अङ्क सहित तालिकाको पुछारमा छ । ३१ खेल खेलेको यूएई ३१ अङ्कका साथ पाँचौँ स्थानमा छ ।