Kath Khabar
नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी वैशाखमा हुने



              काठमाडौं, फागुन २३ । नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजना रहेको महोत्सवको उद्देश्य पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्‍याउने रहेको जानकारी महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले दिए ।

सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथा वस्तुमा बनेका चलचित्र सहभागी रहने छ । महोत्सवको लागी चलचित्र दर्ता आव्हान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित फिल्म हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका फिल्महरूलाई विश्वमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो । गत वर्ष गोरखा जिल्लाको लाप्राकमा सम्पन्न महोत्सवमा राम्रै दर्शकको उपस्थिति रहेको थियो ।

यो वर्ष महोत्सव हुने स्थान भने फाइनल भई नसकेको आयोजकले बताएको छ । महोत्सवमा सहकार्य चलचित्र विकास बोर्डले गरेको छ ।   


 

प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update