काठमाडौं, फागुन २३ । फुटबलका अब्दुल्लाह अलमुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट प्रशिक्षकको अवार्ड अलमुताइरीले पाएका हुन् ।
अवार्डका लागि अलमुताइरीसँगै, क्रिकेटका अस्ट्रेलियन डेभ ह्वाटमोर, पारा तेक्वान्दोका कविराज नेगी, बक्सिङका दीपक महर्जन र भलिबलका जगदीश भट्ट मनोनयनमा परेका थिए ।
उनीहरुलाई पछि पार्दै अवार्ड जितेका अलमुताइरले पल्सर मोटरसाइकल पुरस्कार पाएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक रहँदा विवादै विवादमा परे पनि अलमुताइरीले नेपाललाई पहिलो पटक एसियन कप छनोटको तेश्रो चरणसम्म पुर्याएका थिए ।
उनकै प्रशिक्षणमा माल्दिभ्समा भएको साफ च्याम्पियनसीपमा नेपाल फाइनलसम्म पुगेको थियो । यस्तै अफ्रिकी देश मोरिसससँग खेलेका २ वटा मैत्रीपूर्ण खेल पनि नेपालले जितेको थियो ।