काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको इजलासले माघ १३ मा गरेको उक्त फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो ।
अदालतले फैसलामा नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उमेदवार हुने अधिकार नरहने बताइएको छ।
पूर्णपाठमा भनिएको छ - 'त्यस प्रकारका प्रक्रिया पूरा नगरेका व्यक्तिले नेपाली नागकिरता प्राप्त गरेका व्यक्तिलाईमात्र प्राप्त हुने नागरिक वा राजनैतिक अधिकार भने प्राप्त गर्न सक्तैनन्। नेपालको संविधानको धारा १७९२० (ग) बमोजिम राजनीतिक दल खोल्ने स्वतन्त्रता नागरिकलाई मात्र उपलब्ध हुन्छ। नेपाली नागरिक नभएका व्यक्तिलाई नेपालमा राजनीतिक दल खोल्ने वा संसदीय निर्वाचनमा उमेदवार हुने अधिकार रहँदैन। ' नेपाली नागरिकता नै नभएको व्यक्तिले मतदान गर्ने, चुनाव लड्ने जस्ता राजनीतिक अधिकार उपभोग गर्न नसक्ने सर्वोच्चको भनाइ छ।
यस्तै फैसलामा भनिएको छ, ‘रिट निवेदनमा प्रत्यर्थी रबि लामिछानेले लिएको राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता, सभापतिको पदीय हैसियत, सो हैसियतमा प्राप्त गरेको लाभ लगायतका अन्य केही कानूनी स्थितिको विषयमा समेत प्रश्न उठाइएको पाइयो। माथि उल्लेख भएबमोजिम प्रस्तुत रिट निवेदनको मुल विषय नागरिकता सम्बन्धी भई सो बिषयको निरुपण भएको र अन्य विषयमा सम्बन्धित अधिकारीहरुबाट निर्णय भएको अवस्था नहुँदा रिट निवेदनमा उपरोक्त अनुसार उठाइएका अन्य बिषय वा प्रश्नहरु सम्बन्धमा अहिले थप उल्लेख वा विवेचना गरिरहन परेन। ’