काठमाडौं, फागुन २४ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् २०२२ मा चार हजार तीन सय ३९ जना महिला र एक हजार चार सय चार जना बालिका गरी कूल पाँच हजार सात सय ४३ जना पीडित भएको जनाएको छ । एक सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ (फागुन २४ गते) एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो ।
सन् २०२२ मा बेचबिखन तथा ओसारपसारका घटनामा २४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा तीन हजार ३१ जना, ‘बोक्सी’ को आरोपमा २३ जना, बलात्कारका घटनामा छ सय पाँच जना, बलात्कार प्रयासका घटनामा एक सय ४५ जना, यौन दुर्व्यवहारका घटनामा ४२ जना महिला पीडित भएका अभिलेख राखेको प्रतिवेदनमा जनाइएको छ ।
’मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुने गरेको छ । यस वर्ष परिवारजनबाट एक सय ११ जना महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या एक सय १२ थियो ।’- प्रतिवेदनमा उल्लेख छ । भनेजति दाइजो नल्याएको आरोपमा एक जना महिलाको हत्या भयो भने सोही कारणले २५ जना महिला हिंसामा परेका अभिलेख भएको पनि इन्सेकले जनाएको छ । वैवाहिक बलात्कारका घटनामा १५ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी बलात्कारका घटनामा एक हजार नौं जना, यौन दुर्व्यवहारका घटनामा तीन सय २६, बेचबिखन तथा ओसारपसारका घटनामा ३९ जना र बाल विवाहका घटनामा ३० जना बालिका पीडित भएका अभिलेख राखिएको इन्सेकले जनाएको छ । ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मूल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च र आसपासका दिनहरूमा मनाइँदैछ ।
महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका छन् । ’महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन ।’- प्रतिवेदनमा भनिएको छ ।