काठमाडौं, फागुन २५ । राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तय गरेको छ ।
राष्ट्रपति चयनका लागि प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले मतदान गर्नेछन् । उनीहरुलाई छुट्टा छुट्टै स्थानमा मतदानको ब्यवस्था मिलाइएको आयोगले जनाएको छ । राष्ट्रपति निर्वाचनका लागि आयोगले सबै तयारी पुरा गरेको छ । आयोगले मतदानका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएर सबै तयारी पुरा गरेको जानकारी दिएको छ ।
प्रतिष्पर्धामा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ छन् । दुई नेताहरुबीच हुन लागेको राष्ट्रपतिको चुनावले मुलुकलाई बिहिबार नै नयाँ राष्ट्रपति दिनेछ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रपतिका लागि बिहीबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएपछि मुचुल्का उठाउने लगायतका काम सकेर बेलुका आठ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरेको सहायक निर्वाचन अधिकृतअमृताकुमारी शर्माले जानकारी दिनुभयो । कार्यकालका हिसाबले चौथो र व्यक्तिका हिसावले तेश्रोलाई मुलुकले नयाँ राष्ट्रपति पाउनेछ ।
राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेललाई उनको दल कांग्रेसहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी लगायतले समर्थन गरिसकेका छन् । यी दलहरुले आफ्ना सांसदलाई अभिमुखीकरण नै दिएका छन् ।
अभिमुखीकरणमा उनीहरुले राष्ट्रपतिमा मतदान गर्ने विषयदेखि नयाँ समिकरणबारे प्रशिक्षण दिएका छन् । यता, एमालेका नेम्वाङलाई एमालेबाहेक दलले मत दिने सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा अनिर्णित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी लगायतले अब उम्मेदवार तोकेर मत दिने निर्णय गर्न नपाउने आयोगले बताइसकेको छ ।
बानेश्वरस्थित संसद भवन परिसरमा मतदानका लागि आयोगले छुट्टाछुट्टै व्यवस्था मिलाएको छ । कार्यालयले संघीय सांसदहरूका लागि एक र प्रदेशसभा सदस्यहरूका लागि अर्को गरी दुई वटा मतदान केन्द्र बनाएको छ । यता, आयोगले मत परिणाम सार्वजनिक पनि बिहीबार नै गर्ने तयारी गरेको छ । सम्भवत बिहीबार साँझ ७ बजेसम्म मुलुकले नयाँ राष्ट्रपति पाइसक्नेछ ।