काठमाडौं, फागुन २५ । विश्व खाद्य कार्यक्रमले नेपाल-भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ ।
चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिना देखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन् ।
समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो । भन्सार कार्यालयले रोकिदिए पछि कन्टेनरका मजदुर फर्केर घर जान पाएका छैनन्, न त उनीहरूका लागि खाने र बस्ने उचित व्यवस्था नै छ
प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ ।
गत माघ १७ मा नेपालगन्ज भन्सार कार्यालयले नमुना पठाएको चामल खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले जाँच गर्दा आयात गर्न नमिल्ने अवस्थामा भेटिएको थियो ।
प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा चामल भिजेको, गन्ध आएको र खान अयोग्य रहेको प्रतिवेदन बुझाए पछि नाकामै रोकेको नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लु प्रसाद शर्माले जानकारी दिनुभयो ।
भन्सार कार्यालयले गुणस्तहीन चामल फिर्ता नलगे भन्सार ऐन तथा नियमावलीअनुसार नष्ट गर्ने जनाएको छ । सूचना अधिकृत शर्माका अनुसार चामल गुणस्तरहीन प्रमाणित भएपछि विश्व खाद्य कार्यक्रमका कुनै कर्मचारी सम्पर्कमा आएका छैनन् ।
ससर्त फिर्ता लैजान सक्ने व्यवस्था छ तर, त्यसका लागि पनि निश्चित समय सीमा भित्र गुणस्तरीय चामल ल्याउने लिखित सर्त सहितको निवेदन दिनुपर्छ । भन्सारबाट प्राप्त हुन सक्ने उल्लिखित सुविधा अनुरूप आयातकर्ता विश्व खाद्य कार्यक्रमका अधिकारीले अखाद्य चामल सहितका कन्टेनर फिर्ता नगरे सरोकारवाला सहितको उपस्थितिमा नष्ट गर्ने पक्षमा भन्सार पुगेको शर्माले बताउनुभयो ।
तर, विश्व खाद्य कार्यक्रमका अधिकारी भन्सारले दिन सक्ने उक्त सुविधा अनुरूप खान नहुने चामल फिर्ता गरी अर्को खेप ल्याउन पाउने मौका चुकाउँदै गएका छन् । किनकि भन्सार कार्यालय अब धेरै समय पर्खिन सक्ने पक्षमा देखिएको छैन ।
विश्व खाद्य कार्यक्रमले खाद्यान्न वितरण गर्ने नाममा पटक पटक कुहिएको खाद्यान्न वितरण गर्ने गरेको गुनासो आएको छ । यसअघि २०७२ सालमा बाँकेको खजुरास्थित विश्व खाद्य कार्यक्रमको गोदाममा भण्डारण गरेर राखिएको ५ सय १४ मेट्रिक टन दाल कुहिएको अवस्थामा फेला परेको थियो ।