काठमाडौं, फागुन २६ । आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम सिरिजको दोस्रो खेलमा पपुवा न्यु गिनीले संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पीएनजीले युएईलाई ५६ रनले हराएको हो । योसँगै पीएनजीले यूएईलाई लगातार ३ खेलमा पराजित गरेको छ भने लिग दुईमा युएई चौथो पटक पीएनजीसँग हारेको हो ।
पीएनजीले दिएको २४७ रनको लक्ष्य पछ्याएको युएईले ४२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १९० रन बनाउन सक्यो । युएईका आर्यन लाक्राले सर्वाधिक ५१ रन तथा मुहम्मद वासिमले ४१ रन बनाए । अन्य ब्याटरले भने राम्रो रन बनाउन सकेनन् । पीएनजीका राइली हेकुरीले ३ तथा असाद भाला र कबुवा मोरियाले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले तीनजना ब्याटरको अर्धशतक सहयोगमा ९ विकेट गुमाएर २४६ रनको योगफल बनाएको थियो ।
पीएनजीका किप्लिन डोरिगा, हिरी हिरी र सेसे बाउले अर्धशतकीय योगदान गरे । डोरिगाले ५५, बाउले सर्वाधिक ८१ र हिरीले ७७ रन बनाए । युएईका आयान खानले ३ विकेट लिए । यस्तै जुनेद सिद्धकी र जहुर खानले २-२ विकेट लिए ।