काठमाडौं, फागुन २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सर्वोच्च अदालतले पर्याप्त कारण नदेखिएकाले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । कारण अपुग भएको भन्दै सर्वोच्चले प्रचण्डमाथि कारण देखाउ आदेश जारी गरेको छ ।
आदेशमा माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयंले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न भनिएको छ ।
रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइँटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।