Kath khabar
एनसेलले परिमार्जन गर्यो १९ देशको अन्तराष्ट्रिय कल शुल्क

काठमाडौं, जेठ २५ । एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरी विश्वका १९ देशहरुको अन्तराष्ट्रिय कल शुल्क परिमार्जन गरेको छ । नयाँ शुल्कहरु नेपाल दुरसञ्चार प्राधिकरणले अन्य दुरसञ्चार सेवाप्रदायकलाई प्रदान गरेको स्वीकृत शुल्क तथा कल दर अनुसार नै रहेका छन् ।

गत जेठ ९ गते नेपाल दुरसञ्चार प्राधिकरणले एनसेललाई इटाली, माल्टा, जर्मनी, ताजिकस्थान, जोर्डन, थाइल्याण्ड, लाटभिया, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएशिया, फिनल्याण्ड, नेदरल्याण्ड, बुल्गेरिया, सिरियन अरब रिपब्लिक, लिथुआनिया र साइप्रस गरि १९ देशहरुका लागि नयाँ अन्तराष्ट्रिय कल शुल्कको स्वीकृति प्रदान गरेको थियो । प्राधिकरणबाट प्राप्त यो स्वीकृति सँगै यी देशहरुका लागि एनसेलको अन्तराष्ट्रिय कल शुल्क अब अरु सेवाप्रदायकहरुले प्राधिकरणको स्वीकृति बमोजिम लिइरहेको न्यूनतम शुल्कसँग बराबर भएको छ ।

नयाँ परिमार्जित अन्तराष्ट्रिय कल शुल्क अनुसार माथि उल्लेखित १८ वटा देशहरुको शुल्क कर बाहेक प्रतिमिनेट रु. ३० निर्धारण गरिएको छ भने माल्दिभ्सको प्रतिमिनेट कलशुल्क कर बाहेक रु. ३०.६५ निर्धारण भएको छ । यस अघि यी देशहरुमा कल गर्दा गन्तव्य देश अनुसार प्रतिमिनेट रु. ४.९९ देखि रु. १५ सम्म लाग्ने गरेको थियो । अझै पनि माल्दिभ्सको लागि एनसेलको प्रतिमिनेट कल शुल्क अरु सेवाप्रदायकले लिने शुल्क भन्दा निकै नै कम रहेको छ ।

अन्तराष्ट्रिय कलका लागि कम्पनीलाई लाग्ने खर्चको तुलनामा खुद्रा दर निकै नै कम भएको र सम्बन्धित देशका साझेदारहरुले सन् २०१६ देखि आफ्नो शुल्क बढाएको कारणले गर्दा विगत ५ वर्ष देखि एनसेलले अन्तराष्ट्रिय कल बापतको राजस्वमा ठूलो नोक्सानी व्यहोर्दै आएको छ । साथै यस अघि एनसेलले यी देशहरुका लागि प्रदान गर्दे आएको अन्र्तराष्ट्रिय शुल्क अन्य सेवाप्रदायकहरुको स्वीकृत कल शुल्क भन्दा ६ गुणा कम दरमा ग्राहकहरुलाई अन्तराष्ट्रिय कल सुविधा प्रदान गर्दे आएको थियो ।

सन् २०१६ देखि अप्रिल २०२१ सम्ममा एनसेलले अन्तराष्ट्रिय कल सेवामा अव्यवहारिक नोक्सानी व्यहोरेको छ । विगत ५ वर्षमा एनसेलले अन्तराष्ट्रिय कलबाट हुने आयम रु. २७.५ करोड भन्दा बढि नोक्सान भोगेको छ । केही यूरोपियन गन्तव्यहरुमा कल गर्दा लाग्ने शुल्क अझै पनि स्वीकृत दरभन्दा निकै बढि रहेकोले हाल यी देशहरुका लागि गरिएको शुल्क परिमार्जन पश्चात पनि ग्राहक सेवा सुनिश्चित गर्ने क्रममा एनसेल अझै पनि घाटामै रहने छ । प्राधिकरणबाट स्वीकृत कल शुल्क प्रतिमिनेट रु. ३० रहे पनि कल गरिने गन्तव्य देश अनुसार कुनै-कुनै यूरोपियन गन्तव्यहरुको कल शुल्क कर बाहेक रु. १,१७०.३० सम्म रहेको छ । गुणस्तरीय सेवा सुलभदरमा प्रदान गर्न र डिजिटल कनेक्टिभिटी अझ बढाउदै यसले दिने लाभहरुसँग सबैलाई जोड्न एनसेल प्रतिबद्व छ । एक जिम्मेवार कपोर्रेटकोरुपमा एनसेलले सबै नियम तथा कानुनको पूर्णरुपमा परिपालना गर्दै आएको छ ।

स्थापनाकाल देखि गत आर्थिक वर्ष २०७६/७७ सम्ममा एनसेलले कर तथा शुल्कहरु बापतरु २४२ अर्ब भन्दा बढि राजस्व सरकारलाई बुझाएको छ । देशको एक सबैभन्दा ठुलो करदाताको रुपमा नेपालमा सामाजिक तथा आर्थिक विकासको लागि एनसेलले उल्लेखनीय भुमिका रहेको छ र देशको हितको लागि दिगो व्यवसाय संचालनलाई निरन्तरता दिदै जानेछ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी पहल अन्तर्गत हालसम्म रु. १ अर्ब २७ करोड भन्दा बढि रकम खर्च गरिसकेको छ र देशको आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरु गदै आएको छ ।   

 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update