काठमाडौं, फागुन २९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।
पत्रकारसँग कुराकानी गर्दै लामिछानेले भन्नुभयो, “सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्बाध रुपमा निर्णय गर्छ । अहिले हामी त्यो निर्णयको चरणमै पुगिसकेको छैनौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आम नागरिकको पक्षमा काम गर्ने र त्यसको निरन्तरता हुने सुनिश्चितता भएको खण्डमा मात्र सरकारमा जाने नजाने निर्णय गर्छ ।"
रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उहाँले बताउनुभयो ।उहाँले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताउनु भएको छ ।
चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीको लागि प्रचार भन्दा पनि अलि फरक ढंगमा आउने तयारी रहेको बताउँदै यसपाली घण्टी पहिलाभन्दा ठूलो आवाजले बज्ने लामिछानेले बताउनुभएको छ ।