Kath Khabar
लिङ्ग भैरवी देवी तपाईंका कल्पनाभन्दा परका सम्भावनाहरू खोलिदिने द्वार हुन्



                 काठमाडौं, फागुन २९ । नेपालमा लिङ्ग भैरवी देवीलाई स्वागत गर्न आयोजित भव्य भैरवी उत्सवमा सद्गुरुले भन्नुभयो, “देवी द्वार हुन् । तपाईंले उनको उपयोग गर्न जान्नुभयो भने उनले यस्ता सम्भावनाहरू खोलिदिने छिन्, जुन तपाईंले सम्भव छ भनेर कहिल्यै कल्पना समेत गर्नुभएको छैन ।” सो उत्सवमा २० हजारभन्दा बढी मानिस सहभागी थिए । भक्ति, सङ्गीत र नृत्यको संयोजन रहेको त्यस भव्य साँस्कृतिक उत्सवमा भक्तालुहरूलाई लिङ्ग भैरवी दवीको शक्तिशाली ऊर्जा र कृपा अनुभव गर्ने अनुपम अवसर प्राप्त भएको थियो ।

सद्गुरुले भैरवी उत्सवमा भन्नुभयो, “तपाईंले द्वार खोल्नुभयो भने तपाईंले आफूभित्र र आफूबाहिरको ब्रह्माण्डप्रति पहुँच पाउनुहुनेछ अनि तपाईंको जीवन सानदार बन्दछ । आज म यो भन्न सक्छु, मेरो वरपर यस्ता हजारौँ मानिस छन्, जो फरक स्तरको प्रतिभा र क्षमतामा काम गर्दछन् । म नेपालका मानिसहरूमा यो देख्न चाहन्छु । यो महत्त्वपूर्ण छ, तपाईं यी साधनहरूको उपयोग गर्नुहोस्, जसले तपाईंलाई भौतिकबाट पर पुर्‍याउँछन् ।”

महिला र पुरुष दुवैले दर्शन गर्ने भए पनि देवीको गर्भगृहलाई महिलाहरूले मात्र हेरचाह गर्छन्, जसलाई “वैरागिनी माँ” भनिन्छ । कुनै जाति, धर्म, वा विश्वको कुनै स्थानले यी उपासकहरूको चयनमा प्रभाव पार्दैन । सद्गुरुले उल्लेख गर्नुभयो, “अर्को ६-८ महिनामा नेपाली वैरागिनी माँ हुनुपर्छ । नेपालका महिलाहरूले यो सुनिश्चित गर्नुपर्छ ।” उहाँले थप्नुभयो, “यो एक मात्र संस्कृति हो, एक मात्र सभ्यता हो, जहाँ आध्यात्मिक पक्षको सन्दर्भमा पुरुष र महिलाको बीचमा कुनै भिन्नता गरिएन । दुवैलाई समान व्यवहार गरिन्थ्यो ।”

सनातन धर्मलाई नेपालमा अझ जीवन्त कसरी बनाउने भन्ने प्रश्नमा सद्गुरुले आफ्नो खुला शैलीमा भन्नुभयो, “मन्दिर सबैका लागि खुला हुनुपर्छ, चाहे व्यक्तिको वर्ण, जाति, वर्ग जेसुकै भएपनि ।” नेपालको एक प्रमुख मन्दिरको भ्रमणबारे अनुभव सुनाउँदै उहाँले थप्नुभयो, “कृपया विदेशी नागरिकलाई मन्दिर प्रवेशमा रोक नलगाउनुहोस् । यो पहिल्यैको समयबाट आएको थियो, जहाँ विदेशीहरू मन्दिर नष्ट गर्न आउँथे । तर अहिले जो विदेशीहरू यहाँका मन्दिरमा आउँछन्, उनीहरू सही अर्थमै मन्दिरभित्र जान चाहेका हुन्छन् । तपाईंले उनीहरूलाई स्वागत गर्नुपर्छ । हामीले उही पुरानै ढर्रा त्याग्नुपर्छ ।”

विश्व प्रसिद्ध योगी सद्गुरुले हालै फाल्गुन २३ गते काठमाडौँको बसुन्धरामा लिङ्ग भैरवी देवीको प्राण- प्रतिष्ठा गर्नुभएको थियो । भारतबाहिर पहिलो पटक यसरी लिङ्ग भैरवी देवीको प्रतिष्ठा भएको हो । लिङ्ग भैरवी देवीको ऊर्जाले मानव प्रणालीका तीन मूल चक्रलाई दह्रिलो बनाउँछ, जसकारण व्यक्तिको शरीर, मन र ऊर्जा प्रणाली राम्ररी स्थापित हुन्छ ।

लिङ्ग भैरवी देवीको दर्शन सबैका लागि खुला छ- हरेक दिन बिहान ६ः३० देखि १ः२० र साँझ ४ः२० देखि ८ः२० सम्म । देवी अभिषेक ११ वटा पवित्र अर्पणहरूको आरति हो, जुन देवीलाई हरेक दिन बिहान ७ः४०, दिउँसो १२ः४० र बेलुका ७ः४० बजे गरिन्छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update