Kath khabar
३५ वर्ष अघिको त्यो कालो दिन
तस्बिर : मिन रत्न बज्राचार्य

 

                   काठमाडौं, फागुन २९ ।  वि.सं. २०४४ साल फागुन २९ गते करिब ३० हजार दर्शक क्षमता भएको दशरथ रंगशाला फुटबल प्रेमीले खचाखच भरिएको थियो ।  जहाँ जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा त्रिभुवन च्यालेन्ज शिल्ड उपाधीका लागि आमने सामने हुँदै थिए । 

फाइनल खेल हेर्न बुटवल, जनकपुर, वीरगञ्ज लगायतका स्थानबाट समेत दर्शकहरू राष्ट्रिय रंगशाला ओइरिएका थिए । फुटबल प्रेमीको समुह टिकट बोकेर दक्षिणी गेटबाट रंगशाला प्रवेश गर्न रस्साकस्सी गर्दै थिए। गेटमा तैनाथ सुरक्षाकर्मी तथा फुटबल संघका पदाधिकारीसँग टिकट जँचाउँदै दर्शकलाई भित्र पठाउँदै थिए। दिउँसो २ः३० बाट शुरू भएको खेलमा बंगलादेशी टोलीले सुरूवाती अग्रता लिएको थियो । 

खेलको १९ औं मिनेट चलिरहँदा हावाहुरी यति जोडले चल्न थाल्यो कि सैनिक मुख्यालय तर्फका ठुलठुला रूखका हाँगा रंगशालामा खस्न थाले । दर्शक दीर्घामा हावाहुरीबाट ज्यान जोगाउन भागदौड शुरू भयो । रंगशाला प्रवेशका ढोकाहरू ताल्चा लगाइएको कारण समयमै दर्शकहरू बाहिरिन पाएनन् र किच्चिएर र च्याप्पिएर कम्तीमा ९७ जना फुटबल फ्यानले ज्यान गुमाउन पर्यो भने कैयन समर्थकहरू घाइते भए । 

करिब ५ मिनेटपछि हावाहुरीको बबण्डर रोकिए पछि प्रहरी सुरक्षा घेराबीच बंगाली खेलाडीलाई होटल तर्फ लगियो। जनकपुर चुरोट कारखानाका खेलाडी भोटेबहालस्थित होटल पुगे। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रोकिएको खेल पछि हुने घोषणा गरेको थियो । तर, त्यो दुर्घटनापछि खेल हुन सकेन। ३ दिनपछि बंगलादेशी टोली पनि घर फर्कियो ।

तत्कालीन शिक्षा तथा संस्कृति मन्त्री केशर बहादुर विष्टले घटनाको चौथो दिन नैतिकताको आधार देखाउँदै राजा वीरेन्द्र सामु राजीनामा बुझाए। उक्त भयानक घटनापछि दशरथ रंगशालामा फुटबल खेल हुँदा दोश्रो हाफबाट नै प्रवेशद्धारहरू खुल्ला राख्न थालियो  ताकी कथम् ०४४ सालको अवस्था आइपरेमा दर्शकहरू सहज रूपमा नै बाहिरिन सकुन् । 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update