काठमाडौं, फागुन ३० । अघिल्लो दिन घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मङ्गलबार बढेको छ ।
नेप्से आज एक दशमलव ८५ अंकले बढेर १९ सय ५३ दशमलव शून्य छ अंकमा पुग्दा सेन्सिटिभ भने शून्य दशमलव १७ अंकले घटेर तीन सय ६८ दशमलव ३२ अंकमा पुगेको छ । आज दुई सय ५५ वटा कम्पनीहरूको २६ हजार चार सय ७३ पटकको कारोबारमा ३३ लाख १८ हजार एक सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब १३ करोड ५९ लाख २५ हजार तीन सय ५७ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, लघुवित्त, उत्पादनमूलक, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका पाँच वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी र अन्य सहितका आठ वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एनआईसी एशिया ब्यालेन्स फण्ड, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, ग्रीन भेञ्चर्स लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने एनआईसी एशिया बैंक, हिमालयन बैंक, नबिल बैंक आदि परेका छन् ।