काठमाडौं, फागुन ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भएको छ । राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि १ पटक राष्ट्रपति, २ पटकसम्म प्रधानमन्त्री, ३ पटकसम्म मन्त्री र ४ पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उहाँको भनाइ थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलवार देखि काठमाण्डौमा शुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था गरेको भए अहिलेसम्म देशले पाँचौँ राष्ट्रपति पाइसकेको हुने स्मरण समेत गराउनु भयो । उहाँले सांसद, मन्त्री भइसकेकाहरूले देशको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगत रूपमै भए त्यो झनै राम्रो हुने धारणा समेत राख्नुभयो ।
कार्यक्रममा बोल्दै महामन्त्री शर्माले भ्यु टावर बनाउने कुरा, एकै पटक धेरै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा देशका लागि आर्थिक बोझको विषय भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले देशलाई प्रतिफल दिन सक्ने आयोजनाहरूको छनोट गरी त्यसलाई अघि बढाउने गरी नीतिगत व्यवस्था गर्न जरुरी रहेको पनि बताउनुभयो ।
महामन्त्री शर्माले राष्ट्रिय उत्पादन वृद्धि गर्ने काममा तीव्रता दिने गरी सरकारले काम गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तालाई वितृष्णा हुने गरी रेलमार्ग लगायतका आयोजनाको छनोट गर्न नहुने पनि पटक पटक दोहोर्याउनुभयो ।महामन्त्री शर्माले राजनीति नागरिकको आर्थिक रूपान्तरणमा योगदान दिने कुरामा केन्द्रित हुनुपर्ने स्पष्ट पार्नुभयो ।