काठमाडौं, चैत ३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त भएको छ ।
निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहे अनुरुप उक्त निर्देशन जारी गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए। स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।
स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । कतिपय क्याम्पसमा विवादका कारण निर्वाचन अनिश्चित छ भने केही क्याम्पसहरुमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् । विद्यार्थी संगठनहरुले उपलब्ध गराएको विवरण अनुसार नेविसंघले १५, अनेरास्ववियुले ३१ र अखिल क्रान्तिकारीले २४ वटा क्याम्पसमा निर्विरोध नेतृत्व पाएका छन् ।
त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीअन्तर्गत निर्वाचन गर्न लागि लागिएको हो। निर्देशिकामा २०५१ चैत १८ गते जन्ममिति र सोभन्दापछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउने व्यवस्था गरिएको छ। निर्देशिकामा स्ववियु निर्वाचनमा कुनै संघ, संगठन वा समूहले समानुपातिकतर्फ मात्र सहभागी हुनसक्ने जनाइएको छ।
स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालबाट चयन हुने छन्। निर्देशिकामा स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११, २०१ देखि एक हजारसम्म विद्यार्थी भए १५, एक हजार एकदेखि तीन हजारसम्म भए १९ तथा तीन हजार एकदेखि बढी विद्यार्थी भए १९ जनाको कार्यसमिति हुने व्यवस्था छ।