
काठमाडौं, चैत ३ । बहुपति प्रथामाथि बनेको चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । चैत्र ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र प्राविधिक कारणले जेठ १२ गते बाट प्रदर्शनमा आउने जानकारी निर्माता शेखर लामाले दिए ।
हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ‘द पाल्म ग्रुप प्रालि’ को ब्यानरमा निर्माण गरिएको छ । चलचित्रमा हिमाली भेगमा प्रचलित बहुपति प्रथालाई देखाइएको छ। टुल्की चलचित्रलाई हिमाली जिल्ला डोल्पामा खिचिएको हो । चलचित्रको निर्देशन देव थापाले र छायाँङ्कन सुसिल अधिकारि र नमराज घिमिरेले गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन् ।
चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पाश्र्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ । चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र ‘टुल्की’ले नेपाल ग्रामिण चलचित्र महोत्सव २०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।