काठमाडौं, चैत ५ । त्रिभुवन विश्वविद्यालयका सहित आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पस र कलेजमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । करिब १४ वर्षपछि आज आइतबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन लागेको हो ।
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीका अनुसार अहिले बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् ।
यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो । प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन। निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ ।
स्ववियु निर्वाचनमा मतदानका लागि चार आङ्गिक क्याम्पसले विद्युतीय मेसिन प्रयोग गर्ने भएका छन् । त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएका हुन् । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ ।
त्रिवि केन्द्रीय क्याम्पस, पुल्चोक इञ्जिनीयरिङ क्याम्पस, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पस धरानले मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीले जानकारी दिनुभयो । ती सबै क्याम्पसमा रामलक्ष्मण इनोभेसन प्रालिका विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले विद्युतीय मतदानका लागि सबै तयारी पूरा गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १६, पुल्चोक इञ्जिनीयरिङमा १४, थापाथली इञ्जिनीयरिङ क्याम्पस र पूर्वाञ्चल इञ्जिनीयरिङ क्याम्पसमा १२/१२ विद्युतीय मेसिन प्रयोग गरिनेछ ।
उहाँले चार क्याम्पसमा मतपरिणाम सोही दिन सार्वजनिकसमेत हुने बताउनुभयो । त्रिवि क्याम्पसमा ६२, पुल्चोक क्याम्पसमा ५८, थापाथली क्याम्पसमा ४१ र पूर्वाञ्चल क्याम्पसमा ४५ जना प्रत्यक्षतर्फका उम्मेदवार छन् । त्रिवि केन्द्रीय क्याम्पसमा तीन हजार तीन सय ३९, थापाथली क्याम्पसमा एक हजार सात सय ५०, पुल्चोक क्याम्पसमा दुई हजार छ सय ९९ र धरानमा एक हजार नौ सय ४१ मतदाता छन् ।