Kath khabar
सभामुख घिमिरेसँग बेलायती सांसदको भेट

 

                काठमाडौं, चैत ५ ।  सभामुख देवराज घिमिरेसँग आइतबार बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गरेका छन्। सभामुख कार्यकक्षमा भएको भेटमा २ देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको छ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्य रुपमा मनाउन बेलायतले गरेको तयारी प्रति खुसी व्यक्त गरे। उनले बेलायतबाट नेपालको विकासका लागि ठूल्ठूला सहयोग भएको बताउँदै आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गरे।

सभामुख घिमिरेले कोभिड १९ महामारीमा बेलायती सांसदमा नेपाललाई सहयोग गर्नेबारे कुरा उठेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, जनस्रोतका क्षेत्रमा लगानीको वातावरण बनाउन ध्यानाकर्षण गराए।

भेटमा सांसद शर्माले सभामुख घिमिरेलाई अनुकूल समयमा बेलायत भ्रमणका लागि निम्तो दिँदै औपचारिक पत्र पठाउने जानकारी दिए। उनले नेपाल र बेलायतबीच २ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्ध झन् बलियो हुने उल्लेख गरे।

सांसद शर्माले बेलायतमा गोर्खा समस्या समाधानमा आफूले पटक पटक कुरा उठाएको बताउँदै मुद्दा पुनरावलोकनको काम भइरहेको जानकारी दिए। बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्ष समेत रहनु भएका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आएका हुन्।

उनको यो छैटौं नेपाल भ्रमण हो।

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update