काठमाडौं, चैत ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाउनुभएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत पाउनुभएको हो ।
प्रधानमन्त्री दाहालको पक्षमा १७२ र विपक्षमा ८९ सांसदको मत र मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । मतदानमा २६२ सांसद उपस्थित हुनुभएको थियो ।
प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिएका हुन् ।
प्रधानमन्त्री दाहाललाई नेकपा एमाले र राप्रपाका सांसदहरुले विश्वासको मत दिएनन् । नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको थियो । एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले फेरि विश्वासको मत लिनुपरेको थियो।