काठमाडौं, चैत ७ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आजको बैठकले विशेष निगरानीमा राखिएका ती युट्युब च्यानलका विषयवस्तु, त्यसमाथि परेका उजुरी, स्वअनुगमनसमेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो ।
काउन्सिलले कुनै मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा सिफारिस गर्ने र यस्ता च्यानलले सम्प्रेषण गरेका सामग्री र आकर्षित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे उल्लेख गरी कारबाहीका लागि युट्युब कम्पनीलाई अनुरोध गर्ने भएको छ ।
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको संयोजकत्वमा बसेको उपसमितिको बैठकले कतिपय युट्युब च्यानल प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिताबारे जानकारीसमेत नभएका, के गर्ने/नगर्ने भन्ने सामान्य ज्ञानसमेत नभएको देखिएको भन्दै व्यावसायिक रूपमा सञ्चालन हुन चाहने युट्युब च्यानल लक्षित एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।