Kath khabar
साप्राबाट निकालियो तीन किलोको ट्युमर



                   चितवन, चैत ७ । नवलपरासीका एक व्यक्तिको साप्रा (तिघ्रा) बाट तीन किलोको ट्युमर निकालिएको छ । विगत पाँच वर्षदेखि बढ्दै गएको उक्त ट्युमरको गत शुक्रबार शल्यक्रिया गरी निकालिएको हो । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का डा. नारायण बेलबासी नेतृत्वको चिकित्सक टोलीले ५९ वर्षीय ती पुरुषको साप्राबाट उक्त ट्युमर निकालेको हो ।

डा. निश्चित श्रेष्ठ, डा.विनय तिमिल्सिना, एनेस्थेसियोलोजिष्ट डा. राजेश यादव सहितको टोलीले सफल शल्यक्रिया गरेको हो । शल्यक्रियामा संलग्न डा. निश्चल श्रेष्ठका अनुसार उक्त पुरुषको देब्रे साप्रोमा ठूलो ट्युमर देखिएको थियो । आफूहरुले खुट्टामा यति ठूलो ट्युमरको शल्यक्रिया गरेको यो पहिलो घटना भएको श्रेष्ठले बताउनुभयो । प्रारम्भिक जाँचमा बोसोको ट्युमर देखिएको उहाँले जानकारी दिनुभयो ।

यस्ता खाले ट्युमर बढ्दै गएपछि हेर्दा नराम्रो देखिने, दुख्दै जाने समस्या आउने उहाँको भनाई छ । बिरामीको अवस्था सुधार हुँदै गएको छ । तपाईंको शरीरमा कतै सानोतिनो ट्युमर त छैन ? समय समयमा शरीरका विभिन्न भागमा परीक्षण गर्ने गर्नुहोस् । अन्यथा ट्युमर बढ्दै गएर ठूलो समस्या बन्न सक्छ ।

 

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update