काठमाडौं, चैत ७ । चैत २ देखि सुरु भएको छैटौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्मतर्फ ‘ऐना झ्यालको पुतली' लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ । नेपाली फिल्मतर्फ चलचित्र प्रकाशबाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् ।
समापन कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले चलचित्रको महत्वमाथि प्रकाश पार्दै भन्नुभयो - सिनेमाले डिप्लोम्यासी रोल गर्छ । उहाँले निफलाई सक्दो सहयोग गर्ने वचन समेत दिनुभयो । समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मीहरु प्रकाश सायमी, प्रदिप खड्का तथा धेरै नाम चलेका चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।
निफका अध्यक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए । उनले आगामी निफ अझ सशक्त रुपमा सम्पन्न गर्ने बताएका थिए । ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।
पाँच दिनसम्म चलेको निफमा नौं वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास सञ्चालन गरेका थिए ।