काठमाडौं, चैत ७ । कलाकार सीताराम कट्टेल धुर्मुसले चितवनमा अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका बारेमा लामो समयपछि मुख खोलेका छन् ।
आज सामाजिक सञ्जालमा लामो भिडियो पोष्ट गर्दै उनले रंगशाला अलपत्र पर्नुका कारण विस्तार गरेका छन् । रंगशाला निर्माणस्थलमै पुगेर उनले आफूहरुमाथि लागेका आरोपबारे जवाफ दिएका छन् ।
"म आज अलि आक्रोशित पनि हुन सकुँला । अलि बढी उत्तेजित पनि हुन सकुँला । मेरो स्वभाव यसरी आक्रोशित हुने स्वभाव होइन । तर म बाध्य भएँ । मैले बोलिरहेका शब्दले यदि कसैलाई ठेस पुग्छ भने म माफि चाहन्छु । के गरूँ ? म मानसिक यातना भोगिरहेको छु ।" उनले बताएका छन् ।
‘आज नेपाली खेलाडीले नेपालको शिर उच्च राख्दै गर्दा तिनै खेलाडीले खेल्ने रंगाशाला बनाउनु के अपराध हो ? के हामीले पाप गरेका थियौं ?’ धुर्मुसले प्रश्न गरेका छन् । आज नेपाली क्रिकेट जहाँ पुगेको छ, रंगशाला आवश्यक रहेछ कि रहेनछ ? टीयू ग्राउन्डको प्रतियोगिता भूईंमा बसीबसी हजारौंले हेरिरहँदा, ज्यान जोखिममा राखेर रुखमा झुण्डिएर हेरिरहँदा रंगशालाको आवश्यकता महसुस भयो कि भएन ?
सरकारी निकायहरुबाट भएको छानबिनको प्रतिवेदन गोप्य राख्दा आफूहरु मर्कामा परेको धुर्मुसको भनाइ छ । यदि कोहि कसैलाई मेरो हिसाब चित्त बुझेको छैन भने कृपया यहाँ रंगशालामा आएर हेरिदिनुस् । तपाइले गरेको सहयोग खेर गएको छैन ।
"मेरो परिवार आज पलपल मरिरहेको छ । हरेक दिन घर फर्किंदा परिवारले सोध्छन्, आज टुंगियो ? मेरो परिवारमा कसले कतिबेला आत्मदाह गर्ने हुन् भन्ने अवस्थामा छ ।" उनले बताएका छन् ।