काठमाडौं, जेठ २६ । राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय अन्तराष्ट्रिय खेल बापत १० हजार रुपैयाँ पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ क्यानको आज बसेको बोर्ड बैठकले नयाँ आर्थिक नियमावली तथा कार्यविधी पारित गरेसँगै खेलाडी भत्ता निर्धारण भएको हो । नयाँ नियमावली अनुसार टि-ट्वान्टी अन्तराष्ट्रियमा पनि खेलाडीको भत्ता पाँच हजार तोकिएको छ ।
क्यानकाले कोषाध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधी तयार गर्न समीती गठन गरेको थियो । समितीमा र्दुगा राज पाठक तथा माधव कर्माचार्य सदस्य रहनु भएको थियो । १८ महिना लगाएर नयाँ कार्यविधी ल्याइएको सो नियमावली अनुसार महिला राष्ट्रिय खेलाडीले हरेक एक दिवसीय खेलको भत्ता पाँच हजार तथा टि-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेबापत् तीन हजार रुपैयाँ पाउने छन् ।
यस्तै बन्द प्रशिक्षणमा रहने खेलाडीले प्रतिदिन भत्ता पाँच सय पाउने छन् । यो सुरुवात मात्र भएको र आगामी दिनहरुमा खेलाडीलाई दिने भत्तामा बढेत्तरी हुँदै जाने समितीले बताएको छ । साथै समितीले क्यानको आर्थिक कारोबार पारदर्शी हुने समेत उल्लेख गरेको छ ।
क्यानको नयाँ कार्यविधी अनुसार प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत तीन लाख र अन्य व्यवस्थापनका लागि एक लाख दिने कार्यविधीमा बताइएको छ ।