काठमाडौं, चैत ८ । वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ । सामाजिक सुरक्षा कोष सबैकालागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मुल ध्येयमा अविचलित र अविराम यात्रारत रहेको जानकारी कोषले दिएको छ ।
यसै सन्दर्भमा औपचारिक क्षेत्रका निजि संगठित संस्थामा कार्यरत श्रमिकहरुका लागि सामाजिक सुरक्षा योजना कार्यान्वयनमा रहेको सन्दर्भमा कोषले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७९ स्विकृत भई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बाट चैत आठ गते बुधबारबाट उक्त कार्यको सुभारम्भ गरिएको कोषले जानकारी दिएको छ ।
स्वीकृत कार्यविधि बमोजिम वैदेशिक रोजगारमा रहेका वा विदेशमा स्वरोजगार रहेका नागरिकले कम्तिमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात हाल न्यूनतम रु दुई हजार दुई मासिक रुपमा र अधिकतम न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा सम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् । कार्यविधिले नियमित रुपमा योगदान गर्ने योगदानकर्ताहरुलाई दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना गरी विभिन्न योजनाहरु संचालनमा ल्याएको छ ।
नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुवा विदेशमा रहि पुनः श्रम स्वीकृति लिन चाहने व्यक्तिहरुका लागि वैदेशिक रोजगार विभागको श्रम स्वीकृतिका लागि कार्यान्वयनमा रहेको अनलाइन प्रणालीबाटै सामाजिक सुरक्षा योजनामा आवद्ध हुने व्यवस्था गरिएको छ । यसका साथै श्रम स्वीकृति लिएर विदेशमा काम गर्दै गरेका व्यक्तिहरुले कोषको वेभसाइटमार्फत सूचिकृत हुन सक्ने व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
सूचीकरण तथा योगदान रकम संकलन लगायतका कार्यमा सहजीकरण गर्नको लागि चौबिसै घण्टा खुल्ला रहने गरि कोषको कल सेन्टर र सामाजिक सञ्जालहरु (Viber, WhatsApp etc) को व्यवस्था गरिएको छ। यसका अतिरिक्त गैर आवासीय नेपालीहरूको संस्था (NRNA)र कोषबीच सहकार्यकालागि सम्झौता भइसकेकाले ८० भन्दा बढी मुलुकमा भएका यस संस्थाको सञ्जालहरुबाट समेत आवश्यक सहयोगको प्रतिवद्धता समेत प्राप्त भएकाले कोषमा आवद्ध हुन थप सहजीकरण हुनेछ । विदेशमा रहेर पनि नेपालमा रहेको बैंक खातामार्फत योगदान रकम संकलन गर्न सक्ने र नेपाली बैंक तथा रेमिट्यान्सका विदेश स्थित कार्यालयहरूबाट योगदान रकम संकलनमा सहयोगका लागि पहल भइरहेको छ।
वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगार रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको शुभारम्भले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सबैको लागि हुने गरी व्यापकता प्राप्त गर्ने विश्वास कोषले लिएको जानकारी दिएको छ ।