Kath khabar
एकै ठाउँबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं महानगरले भाडामा लियो काठमाडौं प्लाजा


                           काठमाडौं, चैत ९ । काठमाडौं महानगरपालिकाले महानगरबासीलाई एकै स्थानबाट सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौं प्लाजा भाडामा लिएको छ । 

काठमाडौं प्लाजा भाडामा लिन काठमाडौं महानगरपालिकाले नेपाल ट्रष्टसँग सम्झौता गरेको छ । बुधबार नेपाल ट्रष्टका कार्यकारी सचिव सरजुकुमार वैद्यको रोहबारमा महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । १० वर्षका लागि सम्झौता गरिएको यो भवन ७ तलाको छ । भवनको सबैभन्दा तल्लो तलामा ७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न मिल्छ ।

२०७२ को भूकम्प अघि महानगर बागदरबारमा थियो । भूकम्पको कम्पनले भवन जीर्ण भएर कार्यालय सञ्चालनका लागि कमजोर भएपछि केही समय राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरियो । त्यसपछि सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ । यस स्थानमा सबै विभाग नअट्टाएपछि विभागहरुलाई फरक फरक ठाउँमा राखिएका छन् ।

छरिएर रहेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो ।

 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update