सुरत, चैत ९ । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई ४ वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले २ वर्षको जेल सजाय सुनाएको छ। तर, उनले तत्काल जमानत पनि पाएका छन् ।
अदालतले राहुल गान्धीलाई सजायको विरुद्ध उच्च अदालतमा अपील गर्न ३० दिनको समय दिएको छ । याचिकाकर्ताका वकिलले अदालतमा राहुल गान्धीलाई अधिकतम सजायको माग गरेका थिए ।
सन् २०१९ को यो मामिला उनले ‘मोदी थर’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ। मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए।
राहुल गान्धीका वकिलहरूको टोलीले सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताए। त्यतिबेला राहुल गान्धीले कथित रूपमा बयान दिएका थिए, “सबै चोरहरूको थर मोदी कसरी हुन्छ ?”
सजायको घोषणापछि राहुल गान्धीले महात्मा गान्धीको बयान ट्वीट गरेका थिए । उनले लेखेका छन्, “मेरो धर्म सत्य र अहिंसामा आधारित छ। सत्य मेरो ईश्वर हो, अहिंसा यसलाई प्राप्त गर्ने माध्यम हो।”
के हो त वास्तविक्ता ?
वायनाडका सांसद राहुल गान्धीले कथित रूपमा यो बयान २०१९ को लोकसभा चुनावमा कर्नाटकको कोलारमा दिएका थिए। उनले कथित रूपमा भनेका थिए, “किन सबै चोरहरूको थर मोदी छ ?”
राहुल गान्धीविरुद्ध भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० अन्तर्गत मुद्दा दर्ता गरिएको थियो। भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम २ वर्षको सजायको व्यवस्था गरेको छ।
सजायको घोषणा पछि निवेदक पूर्णेश मोदीले सञ्चारमाध्यमसँग भने, “हामी यो निर्णयलाई हृदय देखि स्वागत गर्छौं। २ वर्षको सजायको घोषणामा तपाई सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न होइन, यो सामाजिक आन्दोलनको कुरा हो। समाज, जाति विरुद्ध यस्ता भनाइ दिनु हुँदैन, अरु केही छैन, बाँकी हामी समाजमा बसेर छलफल गर्छौं ।”
रिपोर्टका अनुसार राहुल गान्धीले १० हजार रुपैयाँ धरौटीमा जमानत पाएका छन् । वर्तमान सांसद भएकाले राहुल गान्धीको सांसद पद अहिले खतरामा छैन। निर्णयलाई चुनौती दिन उनीहरूसँग ३० दिनको समय छ।
राहुल गान्धीका वकिलहरूको टोलीले मिडियासँग कुरा गर्दै सुनुवाइको क्रममा राहुल गान्धीले आफ्नो बयानबाट कुनै समुदायलाई चोट पुर्याउन नचाहेको बताए।