काठमाडौं, चैत ९ । ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिमले आयोजक ललितपुर मेयर्स-११ लाई ५० रनको फराकिलो अन्तरले हरायो ।
सुदूरपश्चिमले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो । ललितपुरका लागि लक्ष्मी चौधरीले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिमकी ऋतु कनौजियाले २ विकेट लिइन् । ललितपुरका ५ जना खेलाडी रनआउट भए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ३७ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले नटआउट ५१ रन बनाइन् । बलिङतर्फ ललितपुरकी कृतिका मरासिनीले २ विकेट लिइन् ।
तस्रो संस्करणको प्रतियोगितामा आयोजक ललितपुर मेयर्स-११ सहित सुदूरपश्चिम, सशस्त्र प्रहरीको एपीएफ क्लब, मधेस प्रदेश, कोशी प्रदेश गरी ५ वटा टिमको सहभागिता छ ।