Kath khabar
नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

 

                  काठमाडौं, चैत्र ९ ।  नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभायही चैत्र ९ गते काठमाडौंमा सम्पन्न भएको छ । नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उदेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा माननीय उपप्रधानमन्त्री श्री नारायणकाजी श्रेष्ठ ज्यू, नेपाल इटाली चेम्बर अफ कमर्सका अध्यक्ष श्री सञ्जय अग्रवाल ज्यू, नेपाल इटाली चेम्बर अफ कमर्सका  मानार्थ सदस्यश्री राजेश काजी श्रेष्ठ ज्यू, नेपाल इटाली चेम्बर अफ कमर्सका पदाधिकारी तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभामा कार्यवाहक अध्यक्षश्री ध्रुवकुमार श्रेष्ठ ज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । मन्तव्यमा उहाँले भन्नुभयो“नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदान प्रति हामीआभारी छौं र यो सहयोग हाम्रा दुई देशबी चको मित्रताको चिरस्थायी प्रतीकको रूपमा रहने छ भन्ने हाम्रो विश्वास रहेको छ ।”

नेपाल र इटाली बीच कुटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे ६ दशक हुनै लागेको छ । सन् १९५९ अगस्ट ३१ मा दुई देश बीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यो अवधिमा दुई मुलुक बीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमा दुई मुलुक बीचको आर्थिक सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना भएको हो । 

कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पुर्‍याउनु भएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा विशेष सम्मान नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ठ मानार्थ सदस्य श्री राजेश काजी श्रेष्ठ ज्यूलाई प्रदान गरिएको थियो । त्यस्तै नेपाल र इटाली बीच व्यापार क्षेत्रमा उत्कृष्ट आयात कर्ताका रुपमा श्री विनोद सगतानी ज्यूलाई प्रदान गरियो ।

इटाली तर्फ नेपाली वस्तु निर्यातको लागि उत्कृष्ठ निर्यात कर्ताको रुपमा सम्मान श्री राजु श्रेष्ठ ज्यूलाई प्रदान गरिएको थियो । नेपाल इटली चेम्बर अफ कमर्सका तर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्र्याउन सफल भई पर्यटन क्षेत्रमा पुर्‍याएको योगदानका लागि पिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक श्री सर्वोत्तम लाल श्रेष्ठ ज्यूलाई सम्मान प्रदान गरिएको थियो साथै फायर एण्ड आईस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरियो ।

इटालीले नेपाललाई प्रत्यक्षवाअप्रत्यक्ष रूपमा विकास सहयोग प्रदान गर्दै आएको छ । विशेषगरी सन् १९९० मा प्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन् । यस्तै, सन् २०१५ को विनाशकारी भूकम्प पछि पीडितलाई उल्लेख्य मात्रामा इटालियन सहयोग प्राप्त भएको छ । नेपाल इटली चेम्बर मार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहि आएको छ । नेपाल र इटाली बीचको सम्बन्ध मित्रता, आपसी हित र सौहार्दतामाआधारित छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update