Kath khabar
मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु

 

                      काठमाडौं, चैत १० । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आज शुक्रबार देखि शुरु भएको छ । रमजान इस्लामिक क्यालेण्डर अन्तर्गतको एक महिना हो । यहीँ महिनामा धार्मिक ग्रन्थ कुरान अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।

यस रमजानको सम्पूर्ण महिनामा इस्लाम धर्मावलम्बीहरूले रोजा वा उपवास बस्छन् । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार शुक्रबार बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन । सूर्योदय अघिको खानालाई सेहरी भनिन्छ । उपवासको अन्त्यमा अर्थात् साँझमा खाइने खानालाई इफ्तार भनिन्छ। इफ्तार परम्परागत रूपमा खजूर खाने र पिउने पानीबाट सुरु हुन्छ।रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ ।

दान दिनु गरिब र दीन दु:खीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न आज साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ । रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछ । नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई रोजा बस्न अनिवार्य छैन् । देशभरका मुस्लिम समुदायले भक्तिको महिनाका रुपमा मनाउने भएकाले यसबाट पाप नाश हुने धार्मिक विश्वास छ । वर्षमा कुनै त्रुटि भएको भए यसै अवसरमा अल्लाहसँग क्षमायाचना गर्ने मुस्लिम समुदायको परम्परा छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update