Kath khabar
दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचिएकी नेपाली युवतीको उद्दार 

 

                  दुबई, चैत १० ।  दुबईमा ५ लाख ४ हजार रुपैयाँमा बेचीएकी महिलाको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी २० वर्षीया महिलाको माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईबाट उद्दार गरिएको नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिए । मानव तस्करीका गिरोहले दुवईमा ५ लाख ४ हजार नेपाली रुपैयाँमा विक्री गरेका थिए । उक्त मानव तस्कर गिरोहमा वर्ष ३२ का दीपक मगर, वर्ष ३० को मौसम, वर्ष ३५ को पाकिस्तानी नागरिक समीर, मिना डोल्मा लगायताको संलग्नता रहेको पीडितले बताएकी छन् । 

कक्षा १२ मा अध्ययनरत कल्पना घरको कमजोर आर्थिक अवस्थाको कारण वैदेशिक रोजगारीमा जाने मनस्थितिमा थिइन् । उनको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै मानव तस्करहरुले उनलाई प्रलोभनमा पारी दुबई पुर्याएर बिक्री गरेको खुल्न आएको हो । उनलाई मानव तस्कर गिरोहले गत माघ २ गते एयर अरेबियाको जहाज मार्फत दुबई पुर्याएका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मौसम भनिने मानव तस्कर उनलाई पुर्‍याउन आफैं पुगेको समेत खुल्न आएको छ । 

दुबईमा बेचिएकी उनलाई पटक पटक यौन शोषण गरिएको र मानसिक तनाव दिएको कारण उनले आफूले काम गर्न नसक्ने बताएपछि आफू बेचिएको थाहा पाएकी थिइन् । उनलाई नेपाली रुपैयाँ ५ लाख ४ हजारमा बेचिएको र उक्त पैसा नदिएसम्म नेपाल फर्कन नसक्ने भन्दै काम लगाउने मालिकले बताएको उनले भनिन् ।

लगत्तै घटनाको जानकारी पाएका स्वीडेन नागरिक जोनाथन र जोन अबलेन लभ नेपालको अध्यक्ष बालकृष्ण पाण्डे र माइती इन्डियाकी निर्देशक पुजा पाण्डेलाई उद्दारका लागि  अनुरोध गरेका थिए । सोही बमोजिम बालकृष्ण र पुजाको संयु्क्त टिमले परराष्ट्र मन्त्रालय, नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोको आवश्यक समन्वयमा उनको उद्दार गरिएको हो । 

‘हामी आफैं दुवै पुगेर उनको उद्दार गरेका हौं । यसमा दुबईस्थित नेपाली दूतावास, नेपाली जनसम्पर्क समिति युएई, एनआरएन युएई लगायतको महत्वपूर्ण सहयोग रह्यो । अहिले पीडितको अवस्था एकदमै नाजुक छ । उनको स्वास्थ्य उपचार चलिरहेको छ,’ पाण्डले भने । उद्दारकर्ताहरुको निवेदनमा अहिले मानव बेचविखन तथा अनुसन्धान ब्यूरोले अनुसन्धान थालिसकेको समेत पाण्डले जानकारी गराए । पीडितले पनि जाहेरी दिने तयारी रहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update