काठमाडौं, चैत १० । रानीपोखरी पुनर्निर्माण पछि पहिलो पटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो । रानी पोखरीको व्यवस्थापन काठमाडौं महानगरपालिकाका गरिरहेको छ ।
रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् । पुनर्निर्माण पछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि आजबाट मात्रै मान्छेहरु रानीपोखरीमा जान थालेका छन् ।
२०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन । लामो समय बन्द हुँदा र मर्मत सम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।