काठमाडौं, चैत १० । प्रहरी प्रशासनबाट संरक्षित मिटरब्याजी सुदखोरले विपन्न सर्वसाधारणको उठिबास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन् । मिटरब्याज पीडितले विगतमा जस्तै यस पटक पनि ठाउँठाउँमा आन्दोलन गरिरहेका छन् ।
सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेशका पीडितहरू बर्दिबासमा जम्मा भएर काठमाडौंको मार्चमा छन् । यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।
'तमसुक व्यवस्था खारेज गर’ भन्ने मुख्य नारा सहित चैत २ मा बर्दिबासबाट निस्केको मार्च मंगलबार साँझ बाराको पथलैया आइपुगेको थियो । बुधबार बिहान पथलैयाबाट सुरु भएर साँझ मकवानपुरको हेटौंडासम्म करिब २५ किलोमिटर यात्रा तय गरेका छन्।