Kath khabar
गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय


                              गण्डकी, चैत १० । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि आज बसेको संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

गण्डकीमा माओवादीबाट चुमान भौतिक पूर्वाधार मन्त्री र रेशमबहादुर जुग्जाली उद्योग मन्त्री छन्। उनीहरूले आजै मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाउने तयारी गरेका छन्। नेपाली कांग्रेस र माओवादीबीच प्रदेश सरकार आलोपालो गर्ने तयारी छ। तर पहिलो कार्यकाल को मुख्यमन्त्री बन्ने भन्ने अझै टुंगो लागिसकेको छैन।

माओवादीसहितको समर्थनमा गण्डकीमा नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी मुख्यमन्त्री छन्। माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

यहाँ एमालेको उपसभामुखसहित २२, माओवादीका सभामुखसहित ८ जना सांसद छन् भने नेपाली कांग्रेसका २७ जना सां‌सद छन्। राप्रपाका २ र नेकपा एकीकृत समाजवादीका एक जना सांसद छन्। ६० सदस्यीय प्रदेश सभामा कांग्रेस र माओवादी गठबन्धन गरेमा सरकार बन्न बहुमत पुग्छ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update