तुलसीपुर, चैत ११ । तुलसीपुर उपमहानगरपालिकाको सिरानमा रहेको वडा नम्बर ३ को प्रतापकोटका डाडाँहरु टिमुरका बोटले हराभरा भएका छन् । डाँडोमा घुम्न आउँने पर्यटकहरूलाई लस्करै उभिएका बोटहरूले स्वागत गरिरहे झैं देखिन्छ ।
टिमुरका बोटले डाँडोलाई सुन्दर मात्रै बनाएको छैन स्थानीयका लागि आम्दानीको बलियो स्रोत पनि बनेको छ । हावापानी सुहाउँदो र आम्दानी पनि हुने भएपछि निजी जग्गामा स्थानीय किसानहरूले टिमुरका बोटहरु लगाएका हुन् । पारिवारिक तथा निजी वन संघ दाङको सहयोगमा प्रति परिवार ४० वटाका दरले बिरुवा वितरण गरिएको अध्यक्ष पदम केसीले जानकारी दिए ।
टिमुरको बिरुवा हुर्काउनका लागि दुख नहुने र नियमित आम्दानी पनि हुने भएको हुँदा पाखाभरि यस्ता बोटहरु लगाइएको स्थानीय पूर्ण नेपालीले बताए । उनले वार्षिक ५० हजार आम्दानी हुने गरेको सुनाए । ‘केही पनि दुख हुँदैन खेर गएको पाखोमा लगाएको वर्षमा ५० हजार आम्दानी दिएको छ’ नेपालीले बताए । उनले टिमुरको बजार माग धेरै रहेको भन्दै अन्य बिरुवा भन्दा टिमुरबाट धेरै आम्दानी हुने कुरामा जोड दिए ।
पारिवारिक तथा निजी वनले विभिन्न समूहहरू बनाएर टिमुरको बिरुवा वितरण गरेको हो । एउटा समुहमा १५ देखि २० जना सदस्य रहने व्यवस्था गरिएको छ । समुहगतरुपमा बिरुवा लगाएपनि उत्पादन भने किसानहरुले एक्लाएक्लै गर्ने गरेको सङ्घकी सदस्य छवि खरालले बताइन् । उनका अनुसार बहुवर्षीय बिरुवाहरू लगाउन थालेपछि छिटै बिरुवा हुर्कन थालेका छन् । ‘एक वर्षका बिरुवा रोप्दा हुर्काउन समस्या भएपनि बहुवर्षिय बिरुवाहरू हुर्काउन किसानलाई निकै सजिलो भएको छ ’ खरालले बताइन् । सामान्यतया बिरुवा रोपेको ३ वर्षमा उत्पादन सुरु हुने गरेको छ । खरालले किलोको १ हजारसम्मका बिक्री हुने गरेको बताइन् ।
दुख कम आम्दानी बढि
प्रतापकोटको गेहेन्द्र थापाले टिमुरको विरुवा लगाएको ५ वर्ष पनि पुगेको छैन । तर उनको आम्दानी वार्षिक ५० हजारबाट बढ्दै गएको छ । उत्पादनका दृष्टिले हरेक वर्ष समान उत्पादन हुने उनले बताए । ‘एउटा बिरुवाले १ सय वर्षसम्म पनि सुरुको जत्तिकै उत्पादन दिने गर्दो रहेछ ’ थापाले भने । उनले त्यसै खेर गएको करिब ५ कट्ठा पाखोबारीमा टिमुरका बोट लगाएका छन् । ‘भिरालो जग्गामा के लगाउने भनेर सोचिरहेको थिए, संस्थाबाट बिरुवा पाएपछि अहिले टिमुरका बोटहरू हुर्किएका छन्’ थापाको भोगाइ हो ।
थापापानीका चसराम बुढाले पनि टिमुरका बिरुवा रोपेको ७ वर्षजति भएको छ । बिरुवा रोप्दा उनले यसरी आम्दानी होला भन्ने सोचकै थिएनन् । पारिवारिक निजी वनको सहयोगमा बिरुवा पाएपछि पाखो बारीमा लगाइहालौँ भन्ने सोच उनलाई आएको थियो । ‘अरु बिरुवा भन्दा यसबाट राम्रो आम्दानी हुँदो रहेछ, दुख पनि नहुने बिक्रीका लागि धेरै चिन्ता पनि लिनु नपर्ने भएपछि अरु बाँकी जग्गामा पनि टिमुर नै लगाउने सोच बनाएको छुँ’ उनले भने ।
अहिले तुलसीपुर उपमहानगरपालिकाको पहाडी वडाहरुमा १,३,४ र १९ मा टिमुरका बिरुवाहरू लगाउने चलन बढेर गएको छ । जसको अगुवाइ संघले गरेको हो । ‘वडा नम्बर ३ लाई टिमुर उत्पादनको जोनका रुपमा विकास गर्नका लागि हामीले किसानहरुलाई उत्प्रेरित गरिररहेका छौ’ महासंघका केन्द्रीय उपाध्यक्ष मेघराज भुषालले भने । उनका अनुसार महासंघले विरुवाका अतिरिक्त प्राविधिक सहयोग समेत निरन्तर रुपमा दिइरहेको बताए ।
‘अहिले सबैले टिमुरका बिरुवा नै लगाइरहेका छन्’ प्रतापकोटका लिलामणी बुढाले भने । उनले अग्लो र चिसो ठाउँमा यसखालका बिरुवा सप्रने भएको हुँदा किसानले फाइदा लिइरहेको पनि बताए ।
बहुउपयोगी टिमुर
टिमुरको गेडा मात्रै होईन बोक्रा, दाना र फूल दात दुःखेकोमा, टाउको दुःखेकोमा, छालाको रोगमा, अपच, लुतो र नाक बन्द हुँदा औषधीको रूपमा प्रयोग गरिन्छ । आयुर्वेदमा यसलाई ताकत दिने, अजीर्ण र हैजाको औषधीको रुपमा लिईन्छ । कुनै कुनै ठाँउमा बोक्रा सहितको हाँगा, दाना, पात र काँडा कीटनाषक औषधि र माछा मार्ने विषको रूपमा प्रयोग हुदै आएको छ । यसको दाना झिंगा धपाउन पनि प्रयोग गरेको पाइएको छ । टिमुरको बोक्रा र दाना सञ्चित अनाज र पीठोमा लाग्ने खिया रंगको खपटे नियन्त्रणको लागि प्रयोग गरिन्छ ।
विशेषतः पहाडी क्षेत्रको जुगा लाग्ने ठाउँमा वर्षायाममा जुगाबाट बच्न टिमुरका दाना थिचेर बनाएको अर्क/लेप लगाउने चलन छ । नेपालमा टिमुरलाई तरकारी, अचारमा मसलाको रुपमा प्रयोग गरिन्छ । गाँउघरमा यसको बोक्रा र डाँठ मुख सफा गर्न, दाँतको समस्यामा र दाँत माझ्नको लागि प्रयोग गरिन्छ ।
- ✍️ वसन्त आचार्य, दाङ