
भक्तपुर, चैत ११ । भक्तपुरमा ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ आयोजना गरिने भएको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाइज व्यान्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको आयोजकले जानकारी दिएको छ।
नयाँ वर्ष २०८० को अवसरमा चैत २३ देखि ०८० साल वैशाख ३ गतेसम्म ११ दिने महोत्सव आयोजना हुने महोत्सवका संयोजक दीपक थापाले बताए। ‘हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेका हौं,’ थापाले भने।
भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सव हुने जहाँ २ सयभन्दा बढी स्टल रहनेछन्। यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्न, विभिन्न्न प्रकारका लत्ताकपडाका स्टल राखिने संयोजक थापाले बताए। ‘बिक्री गरिने सामानमा २० देखि ५० प्रतिशतसम्म छुट दिइने औद्योगिक शान्ति नेपालका अध्यक्ष महतले जानकारी दिए।
आयोजकका अनुसार महोत्सवमा बालउद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारको दैनिक सांगीतिक प्रस्तुति र हास्य व्यंग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहनेछ।
महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ।