Kath khabar
मन्त्रालय हेरफेर गर्दै नेकपा माओवादी, नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृहमन्त्री बन्दै

 

                    काठमाडौं, चैत १२ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सचिवालय स्रोतका अनुसार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री बन्ने बताईएको छ।

तत्कालीन एमालेसहितको गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह नपाए सरकारमा नजाने अडान लिएपछि श्रेष्ठलाई उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिईएको थियो ।

नेपाली कांग्रेसले अर्थ मन्त्रालय लिने भएपछि गृह मन्त्रालयमा माओवादीले दाबी गरेको बताईएको छ। आईतबार उपप्रधानमन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्ने बताईएको छ । उनले मन्त्रालयमा आफुले गरिरहेको काम र सुरुवात भएको कामको बारेमा जानकारी दिनेछन् ।

यस्तै माओवादी केन्द्रबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सम्हालिरहेका अमनलालमोदीले सहरी विकास वा ऊर्जा मध्ये एक मन्त्रालयमा पठाउने तयारी रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जिम्मेवारी भने यथावत् रहने भएको छ ।

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update