काठमाडौं, चैत १३ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।
‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौँमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।
शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दाको अन्तिम फैसला आउने तयारी भएकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भन्दै अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो । अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने आदेशमा उल्लेख छ ।
सन्दीपविरुद्ध गत भदौ ५ गते राति सिनामंगलस्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोग छ ।