Kath Khabar
आज विश्व रंगमञ्च दिवस

 

                काठमाडौं, चैत १३ । विश्व रंगमञ्च दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाजका विकृति विसङ्गतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्षको मार्च २७ तारिखमा यो दिवस मनाउने गरिएको छ। सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्ष्टिच्यूटले यो दिवसको अवधारणा ल्याएको थियो ।

सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । दिवसको अवसरमा नेपालका विभिन्न स्थानमा कार्यक्रमहरू आयोजना हुने गरेका छन् । यो दिवसलाई हरेक वर्ष रङ्गकर्मीहरूले नाटकमार्फत् मनाउँदै आएका छन् । यो दिनले विश्वभरका सरकार, राजनीतिज्ञ, संस्था र सरोकारवालाहरूलाई थिएटरको मूल्य र आर्थिक वृद्धिको सम्भावनालाई जानकारी गराउन पनि काम गर्दछ ।

संस्कृति, संरक्षण र शान्ति स्थायित्वलाई जोड दिँदै विकृति विसङ्गतिलाई हटाउन नाटकमार्फत् उत्प्रेरणा जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । नेपालमा पछिल्लो समयमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ । पहिले काठमाडौंमा मात्र सीमित रङ्गमञ्च अहिले बाहिरी जिल्लामा पनि फस्टाउन थालेको रङ्गकर्मीहरूले बताएका छन् ।

 

प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update