काठमाडौं, चैत १३ । सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ। सत्ता गठनबन्धनमा रहेका ३ शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच भएको भेटमा मङ्गलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।
बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल हुनेछ। सत्ता गठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ।
मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन। सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायत दल आबद्ध छन् ।