काठमाडौं, चैत १४ । दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो १ वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ । १ हजार रुपियाँले ४ जनाको परिवारलाई २ छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका रूपमा काम गर्ने विमल तामाङले बताए । उनले भने, “ज्याला बढेको छैन, १ वर्षको अवधिमा खानेकुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । दाल, तरकारी, खाने तेल सबै यसैगरी बढेको छ ।
विमल त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आम उपभोक्ता मारमा परेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार १ वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले १ वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिए ।
उनका अनुसार बिस्कुट, चकलेट ५० प्रतिशतसम्म महँगिएका छन् । मैदा र आँटा महँगो भएकाले बिस्कुट, पाउरोटी लगायत अधिकांश उत्पादन ४० देखि ५० प्रतिशतसम्म महँगो भएको अनुभव सङ्घका अध्यक्ष वज्राचार्यको छ । सङ्घका अनुसार गत वैशाखमा प्रतिकेजी ५० देखि ५५ रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८५ रुपियाँमा कारोबार भएको छ । यस्तै सो अवधिमा मैदा प्रतिकेजी ६० रुपियाँबाट ११० रुपियाँसम्म पुगेकामा अहिले घटेर प्रतिकेजी ९० रुपियाँमा किनबेच भइरहेको छ ।
सङ्घ अध्यक्ष वज्राचार्यले गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताए । चामल, दाल, गेडागुडी, चिउरा लगायतका भाउ १० देखि १५ प्रतिशतसम्म महँगिएको खुद्रा व्यापारी बताउँछन् । कलङ्कीका खुद्रा व्यापारी विमल खत्रीले अधिकांश खाद्यवस्तुको भाउ महँगो भएकाले उपभोगमा ठूलो ह्रास आएको अनुभव सुनाए । डेढ दशकदेखि सोही चोकमा व्यापार गर्दै आउनुभएका उनले भने, “हरेक महिना ४ केजी दाल, ४ केजी गेडागुडी किन्ने उपभोक्ताले आधा घटाएर २/२ केजीमा सीमित हुुने गरेका छन् । राम्रो ब्रान्डको चामल किन्नेले सस्तो चामल किन्न थालेका छन् ।”
महँगी भएका विषयमा बढी खाद्यवस्तु मात्रै बाहिर आउँछन् तर एक वर्षको अवधिमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्री लगायत सबै वस्तुको भाउ बढेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए । “भाउ बढ्नुको कारण खोज्यो भने कहीँ कतैबाट उत्तर पाइँदैन, त्यसैले पनि आम उपभोक्ता कुन सस्तो छ भन्नेमा पुगेर चुप लागेर बस्नुपर्ने अवस्था छ,” उनले भने ।
तिमल्सिनाले सरकारसँग बजारमा कुन वस्तुको कति माग हो, कति खपत हुन्छ भन्ने कुनै तथ्याङ्क नभएका कारण बजार केही मुठीभर व्यापारीको नियन्त्रणमा भएकाले उपभोक्ता सधैँ मारमा पर्नुपर्ने अवस्था रहेको बताए । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको ७ महिनाको उपभोग्य वस्तुको मूल्य वृद्धि कायमै रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । बैङ्कको विवरण अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा उपभोक्ता मुद्रास्फीति ७.८८ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.२४ प्रतिशत थियो ।
केन्द्रीय बैङ्कको विवरण अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६.१९ प्रतिशत रहेको छ भने गैरखाद्य र सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत छ । गत वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५.९३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४९ प्रतिशत थियो ।
यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गतका समूहको मूल्य सूचकाङ्क १५.५८ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुको ९.७८ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ९ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशतले बढेको छ ।
श्रोत : गोरखापत्र