काठमाडौं, चैत १४ । भारतमा खलिस्तानको अभियान चलाइरहेका अमृतपाल सिंहलाई नेपालको अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ।
काठमाडौंस्थित भारतीय दूतावासले उनी नेपाल आउन सक्ने भन्दै अध्यागमन विभागलाई पत्र लेखेको थियो। आइतबार दूतावासले पत्र पठाएपछि सोमबार उनलाई अध्यागमन विभागले ‘निगरानी सूची’मा समावेश गरेको हो।
विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार दूतावासले फोटो सहित उनलाई सूचीमा राखिदिन भन्दै अनुरोध गरेको हो। सिंह भारतीय प्रहरीको फरार सूचीमा छन्। उनीमाथि ज्यान मार्ने उद्योग, कानुन कार्यान्वयनमा अवरोध पुर्याएको र अशान्ति मच्चाएको आरोप छ।
‘भारतीय दूतावासले हामीलाई निगरानी सूचीमा राखिदिनु भन्दै पत्र पठाएको छ। उनी पृथकतावादी समूहको मान्छे हुन् र यतै कतै पनि लुकेर बसेका हुन सक्छन् भन्ने दूतावासको आशंका रहेछ,’ उनले भने, ‘नक्कली पासपोर्ट प्रयोग गरी भित्र पस्न सक्छन् भन्दै हामीलाई फोटो सहित पठाएको छ।’
दूतावासले पत्र पठाएसँगै सिंहलाई सूचीमा समावेश गरेको उनले बताए। सुरूमा दूतावासले उनको फोटो बिनानै पत्र पठाएको थियो पछि विभागले फोटो पनि चाहिने भन्दै माग गरेपछि दूतावासले पुन: पत्र पठाएको हो।
‘दूतावासले अनुरोध गरेपछि हामीले पनि राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘ठ्याक्कै यहीँ छ भनेर भनेको छैन। तर नेपालमा पनि आएको हुनसक्छ भनेर भनेको हो। आएको छरछैन कसैलाई पनि थाहा छैन।’
गत शुक्रबार दिल्ली प्रहरी र पन्जाब प्रहरीले सिंहलाई पक्राउ गर्न सर्च अपरेशन नै चलाएका थिए। त्यहीबेला उत्तराखण्डको देहरादुन, हरिद्वार र उद्धमसिंह नगरमा अलर्ट रहन पत्र जारी गरिएको थियो। उनी त्यहाँ आउन सक्ने भन्दै अलर्ट रहन प्रहरीलाई पत्राचार गरिएको थियो। तर दिल्ली प्रहरीले सिंहले देश छाडिसकेको हुनुपर्ने बताएको छ।
सन् २०२० भन्दाअघि सिंह कुनै चर्चामा थिएनन्। त्यतिबेला भएको किसान आन्दोलनका क्रममा अभियन्ता बनेका सन्दीप सिंहको सामाजिक सञ्जालमा समर्थन गरेपछि उनलाई केही मानिसले चिन्न थालेका थिए।
सन् २०२२ को मार्चमा उनी अचानक वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता बनेपछि उनको चर्चा चुलिएको हो। दीप सिधुले सन् २०२१ मा बनाएको उक्त समूहलाई पञ्जाबको अधिकारका लागि केन्द्र विरूद्ध लड्ने र पञ्जाबको संस्कृति, भाषा र सामाजिक सद्भाव विरूद्ध भइरहेको आक्रमणको प्रतिरोध गर्ने भनिएको थियो।
सन् २०२२ को विधान सभा चुनावका बेला वारिस पञ्जाब दे खलिस्तानतर्फ ढल्किएको थियो।
२९ वर्षीय अमृतपाल सिंह वारिस पञ्जाब देको नेता चुनिएपछि २०२२ सेप्टेम्बरमा दुबईबाट पञ्जाब फर्किएका थिए। दुबईमा उनको परिवारको ट्रान्सपोर्टको व्यापार छ। पञ्जाब फर्किएपछि सार्वजनिक र गोप्य रूपमा गरेका विभिन्न कार्यक्रमबाट उनको चर्चा चुलिँदै गयो।
उनले सार्वजनिक रूपमै पनि हिंसाका पक्षमा वकालत गरेका थिए। पछिल्लो समय उनले शिखहरूको छुट्टै राज्य खलिस्तानको भावना दबाउन नसकिने बताउँदै आएका थिए। सुरूमा भारतको पञ्जाब भित्र खलिस्तान बनाउने र पछि पाकिस्तानको पञ्जाबबाट पनि खलिस्तान भूमि गाभ्ने योजना उनले एक अन्तर्वार्ताका क्रममा सुनाएका थिए।
एउटा युट्युब भिडिओमा उनले भारतले पञ्जाबमा उपनिवेश लादेको बताएका थिए। चर्चा चुलिँदै गएपछि अमृतपाल हतियारधारी समर्थकहरूको स्कर्टिङमा हिँड्न थालेका थिए।
अमृतपालका एक जना निकट पक्राउ परेपछि उनका समर्थकले गत फेब्रुअरी २३ एउटा स्थानीय प्रहरी चौकी घेरेका थिए। उनीहरूसँग भएको झडपका क्रममा केही प्रहरीहरू घाइते भएका थिए।
त्यसपछि प्रहरीले उनी र उनका समर्थक माथि कारबाही तीव्र पारेको हो। गत शनिबार पञ्जाबको जलन्धर जिल्लामा प्रहरीले उनलाई पक्रन अपरेशन चलाएका बेला उनी मोटरसाइकलमा भागेको बताइएको छ।
सिंह भारतको फरार सूचीमा रहेको खबर बाहिरिए पछि नेपाल प्रहरी पनि अलर्ट रहेको स्रोतले जनाएको छ। उच्च प्रहरी स्रोतका अनुसार छिमेकी राष्ट्रमा भइरहेको गतिविधिबारे निगरानी राख्ने हिसाबले प्रहरी पनि यसमा अलर्ट रहेको हो। आधिकारिक रूपमा कुनै पत्र भने नआएको स्रोतले बतायो।
‘आधिकारिक जानकारी आएको होइन। तर समाचारहरूबाट थाहा पाएका हौं। छिमेकमा भएको घटनाहरूबारे हामी सधैँ नै अलर्ट हुन्छौं। त्यही हिसाबले हामीले जानकारी पनि लिइराखेको र अलर्ट पनि छौं,’ उनले भने।