Kath khabar
आज चैते दशैँ,  नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदै

 

                  काठमाडौँ, चैत १५ । आज चैते दशैँ पर्व । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाईदैछ।

वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।

चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ। 

चैते दशैँ पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्छ। बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो।

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवी लगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ। यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने र मनोकामना पूरा हुने धार्मिक विश्वास छ। हनुमानढोकामा बलिसहित पूजा प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गरिन्छ।

 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update