काठमाडौँ, चैत १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार ५ वर्ष नै टिक्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाको आयोजनामा बुधबारदेखि सुरू भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा मेयर बालेन शाहले सरकार टिकिरहे स्थानीय तहलाई पनि काम गर्न सजिलो हुने बताउनुभएको थियो । सोही भनाईलाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकार ५ वर्ष टिक्ने दाबी गर्नुभएको हो ।
‘पालिका चुनावपछि सङ्घ र प्रदेशको चुनाव भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाईँ ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।
सम्मेलनमा प्रमुख शाहले कामनपाले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने उल्लेख गर्नुभएको थियो । उहाँले पहिला भएका सम्पत्ति र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताउनुभयो ।