काठमाडौं, चैत १६ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।
चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा देशभरिका पाँच लाख १६ हजार ५७७ जना विद्यार्थी सहभागी हुनेछन् । देशभर दुई हजार ३७ परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ।
एसईईमा अनिवार्य विज्ञान विषयको नतिजा उकास्न यस पटकदेखि एक दिन बिदा दिइएको छ । चैत २१ गते बिदा दिएर चैत २२ गते अनिवार्य विज्ञान विषयको परीक्षा सञ्चालन गरिने भएको छ । एसईईमा सबैभन्दा कमजोर नतिजा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयको रहने गरेको छ ।
त्यसबाहेक अनिवार्य नेपाली र सामाजिक शिक्षाको नतिजा पनि कमजोर नै मानिन्छ । अङ्ग्रेजी र गणितका लागि बिदा भए पनि विज्ञानका लागि परीक्षाको अघिल्लो दिन बिदा नहुँदा त्यसले नतिजामा असर पर्न गएको ठम्याइ राष्ट्रिय परीक्षा बोर्डको छ।
पुरानो पाठ्यक्रमअनुसारको यो वर्ष अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ।